काठमाडौं । संसद्को नयाँ भवनमा सञ्चालन भइरहेको अस्थायी क्यान्टिन बन्द गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले मंगलबार प्रतिनिधिसभाको बैठकमै क्यान्टिनमा बिक्री हुने चिया, मम, चाउमिनलगायतका खानेकुराको मूल्यबारे प्रश्न उठाएपछि अस्थायी संरचनामा सञ्चालित क्यान्टिन बन्द गरिएको हो।
सांसद सुनारले संसद् भवनको बरण्डामा ‘फाइभस्टार होटल’ सञ्चालन गरिएको भन्दै प्रश्न उठाएका थिए। उनले कालो चियाको १ सय रुपैयाँ, दूध चियाको २ सय रुपैयाँ, ममको ३ सय रुपैयाँ र चाउमिनको ४ सय रुपैयाँसम्म पर्ने दाबी गर्दै क्यान्टिनको मूल्यबारे आपत्ति जनाएका थिए।
संसद्मा प्रश्न उठेकै दिन नयाँ भवनमा अस्थायी रूपमा राखिएको क्यान्टि न बन्द गरिएको हो। यद्यपि सिंहदरबारभित्रको साविक क्यान्टिन भने नियमित रूपमा सञ्चालनमा रहेको क्यान्टिनका कर्मचारी राजकाजी महर्जनले बताएका छन्।
महर्जनका अनुसार नयाँ भवनमा रहेको अस्थायी क्यान्टिन बन्द गर्ने निर्णय ‘सिनियर म्यानेजमेन्ट’बाट भएको हो। उनले सांसदले संसद्मा उल्लेख गरेजस्तो मूल्य नभएको दाबी गर्दै मेन्युमा तोकिएको मूल्यभन्दा बाहिर गएर कुनै वस्तु बिक्री नगरिएको बताए।
‘माननीयले जे बोल्नुभयो, त्यो उहाँको अधिकार हो। तर उहाँको भनाइमा सत्यता छैन। मेन्यु जे छ, त्यही हो। रेटभन्दा बाहिर गएर केही गरिएको छैन,’ महर्जनले भने।
अस्थायी क्यान्टिन अब कहिले सञ्चालनमा आउने हो वा त्यसको विकल्पमा के व्यवस्था गरिने हो भन्नेबारे भने सञ्चालक पक्षले स्पष्ट जानकारी दिएको छैन।






