काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको भएको दाबी गरिएको विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचनामा परेका छन्।
सोमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेको उक्त अडियोमा सुनारले एक महिला पूर्वसांसदलाई लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गर्नुका साथै धम्कीपूर्ण भाषा बोलेको सुनिन्छ। केही वर्षअघि रेकर्ड गरिएको बताइएको उक्त अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
अडियोमा सुनिएका अभिव्यक्तिलाई लिएर सुनारको आलोचना भइरहेको छ। घटनापछि उनीमाथि राजीनामा दिनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने मागसमेत उठेको छ।
विवाद सार्वजनिक भएपछि सुनारको फोन बन्द रहेको र उनी सञ्चारकर्मीको सम्पर्कमा नआएको समाचारमा उल्लेख छ। यस विषयमा रास्वपाको धारणा बुझ्न खोज्दा पार्टीका प्रवक्ता जगदीश खरेलले तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। उनले आफू काठमाडौं बाहिर रहेको र घटनाबारे पूर्ण जानकारी नभएको बताएका छन्।
सांसद सुनार यसअघि पनि विभिन्न विवादमा तानिएका थिए। प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप, प्रहरी महानिरीक्षकसँगको विवाद, प्रस्तावित राजदूत नियुक्ति प्रकरणमा नाम जोडिनु र गाईसम्बन्धी अभिव्यक्तिका कारण उनी आलोचित भएका थिए।
पछिल्लो घटनापछि रास्वपाले आफ्ना सांसदबारे कस्तो निर्णय लिन्छ भन्ने चासो बढेको छ। यद्यपि, सार्वजनिक अडियोको आधिकारिक पुष्टि र सांसद सुनारको यस घटनाबारे प्रतिक्रिया उपलब्ध हुन सकेको छैन।









