काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन्।
जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद सुनारले सुशासनका लागि आवाज उठाउने क्रममा ज्यान गुमाएका युवाको बलिदानले देशमा नयाँ परिवर्तनको आधार तयार गरेको बताए।
शहीद परिवारलाई सम्बोधन गर्दै उनले भावुक हुँदै शहीदका आमालाई आफूले एक्लो भएको महसुस नगर्न आग्रह गरे।‘तिम्रो छोरो मरेको होइन आमा, तिम्रो छोरो यो समाजमा, यो देशमा एउटा बीउ बनेर रोपिएको छ। तिम्रो छोरो ढल्यो, नयाँ सुशासनको वृक्ष उम्रिएको छ,’ उनले भने।
उनले शहीदको बलिदानलाई देशमा आएको परिवर्तनसँग जोड्दै भने, ‘तिम्रो छोरो ढल्यो, यो देश उठ्यो।’ सुनारले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत हुने दाबी गरे।
पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भए पनि भ्रष्टाचार गरेको प्रमाणित भए कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ। उनले जेनजी आन्दोलनका शहीद परिवार, घाइते तथा आन्दोलनका माग सम्बोधन गर्न सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताए।
सांसद सुनारले शहीदको बलिदानप्रति निराश वा कमजोर नहुन आग्रह गर्दै आन्दोलनले उठाएका सुशासन र परिवर्तनका मुद्दालाई संस्थागत गर्नुपर्नेमा जोड दिए।






