काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षा, चट्याङ, हावाहुरी र असिनाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही स्थानमा भारी वर्षा हुनुका साथै हिमाली तथा पहाडी भूभागमा हिमपातसमेत हुन सक्छ।

शुक्रबार बिहान ६:१५ बजे जारी मौसम विवरणअनुसार पछिल्लो १२ घण्टामा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

ADVERTISEMENT

दिउँसो कहाँ-कहाँ पर्छ पानी?

ADVERTISEMENT

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। यी क्षेत्रमा हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

मधेससहित कोसी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्छ।

ADVERTISEMENT

कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोसी प्रदेशको तराईका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

राति पनि वर्षा र हिमपातको सम्भावना

आज राति कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा हुन सक्नेछ। बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

यस्तै, कोसी प्रदेशको तराईका केही स्थान, मधेसका थोरै स्थान तथा बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्छ। कोसी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कति वर्षा हुँदा हल्का, मध्यम वा भारी भनिन्छ?

मौसमविद्का अनुसार २४ घण्टामा पर्ने वर्षाको परिमाणका आधारमा वर्षालाई विभिन्न श्रेणीमा विभाजन गरिन्छ।

  • हल्का वर्षा: १० मिलिमिटरभन्दा कम

  • मध्यम वर्षा: १० देखि ५० मिलिमिटरभन्दा कम

  • भारी वर्षा: ५० देखि १०० मिलिमिटरभन्दा कम

  • धेरै भारी वर्षा: १०० देखि २०० मिलिमिटरभन्दा कम

  • अति भारी वर्षा: २०० मिलिमिटरभन्दा बढी

त्यसैगरी, वर्षा हुने भूभागको अनुपातका आधारमा पनि मौसमको पूर्वानुमान गरिन्छ। १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावना भए ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशतमा ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतमा ‘केही स्थान’, ५० देखि ८० प्रतिशतमा ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना भए ‘अधिकांश स्थान’ भन्ने गरिन्छ।