काठमाडौं। देशका विभिन्न स्थानमा आज मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको आंशिक प्रभावका कारण मौसम बदली भएको हो।
महाशाखाका अनुसार आज कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा अन्य पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
विशेषगरी पहाडी क्षेत्रमा यात्रा गर्ने, कृषि कार्यमा संलग्न तथा खुला स्थानमा रहने सर्वसाधारणलाई मौसमको अवस्थाबारे जानकारी लिएर सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।








