काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार (मंसिर १०) पनि बस्ने भएको छ। मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी बैठक आज बिहान ११ बजे पुनः बस्न लागेको हो।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार छलफलका लागि तय गरिएका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक स्थगित गरी बिहीबारका लागि तय गरिएको हो।
बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका एजेन्डामाथि विस्तृत छलफल भइरहेको छ। केन्द्रीय सदस्यहरूले ती प्रस्तावमाथि आ–आफ्ना धारणा र सुझाव राखिरहेका छन्।
त्यसैगरी, पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे पनि बैठकमा छलफल भइरहेको छ।
छलफलका विषय धेरै रहेकाले बैठक केही दिनसम्म निरन्तर सञ्चालन हुने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिएका छन्।












