काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले आज देशभर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।
उच्च हिमाली तथा हिमपात हुने क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेकाले पर्वतीय क्षेत्रमा यात्रा गर्ने तथा पर्वतारोहणमा जानेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
बुधबार देशका अधिकांश भू–भागमा हल्का वर्षा भएको थियो। मौसम प्रणालीको प्रभाव अझै कायम रहने भएकाले केही क्षेत्रमा आकस्मिक वर्षा, चट्याङ र हावाहुरीको जोखिम रहन सक्ने विभागको भनाइ छ।








