काठमाडौं। देशका अधिकांश स्थानको मौसम आज सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

ADVERTISEMENT

यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
आज राति हिमाली भू–भागमा साधारणतया बदली रहने, पहाडी भू–भागमा आंशिक बदली हुने तथा तराई भू–भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसममा आउने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।