काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा पार्टीमा लामो समय योगदान दिएका महत्त्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटीभन्दा बाहिरिन सक्ने बताएका छन् ।
मंगलबार सभापति पदमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले उम्मेदवारीबारे पुनर्विचार गर्न नेताहरूलाई आग्रह गरेका हुन् । उनले पार्टीमा योगदान दिएका नेताहरूलाई विभिन्न जिम्मेवारीमा समेटेर लैजानुपर्ने बताए ।
‘पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्नुभएका धेरै साथीहरूले पदाधिकारीमा मनोनयन गरिरहनुभएको छ । यसले गर्दा धेरै साथीहरू बाहिर रहनुहुन्छ कि भन्ने चिन्ता लागिरहेको छ,’ थापाले भने, ‘त्यसकारण सबै जना पदाधिकारी बन्ने कोसिस नगरौँ । सबैलाई मिलाएर लिएर जाने नेतृत्वको जिम्मेवारी हो ।’
थापाले स्थानीय तहमा मेयर, उपमेयर वा प्रदेश सांसद बन्न चाहने नेताहरूलाई केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा नगर्नसमेत सुझाव दिए । केन्द्रीय सदस्यको निर्वाचनमा पराजित हुँदा भविष्यमा राजनीतिक सम्भावनामा समेत असर पर्न सक्ने भन्दै उनले उम्मेदवारीबारे गम्भीर भएर निर्णय लिन आग्रह गरे ।
पार्टीको संरचनामा जिल्ला र पालिकालाई समेत अधिकार सम्पन्न बनाइएको उल्लेख गर्दै थापाले प्रदेश तथा जिल्लामा बसेर पनि पार्टीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताए ।
उनले आफूले कसैको उम्मेदवारीको अधिकार खोस्न नसक्ने भन्दै पार्टीमा सबैको योगदान आवश्यक रहेकाले व्यवस्थापनका लागि आग्रह मात्र गरेको स्पष्ट पारे ।
विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको थापाले बताए । विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा विगतको जस्तो असमान प्रतिस्पर्धाको अवस्था नआओस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।
थापाले पार्टीमा विवाद नहोस् भन्ने उद्देश्यले आफूले क्रियाशील सदस्यता अद्यावधिकको विषयलाई समेत जोड दिएको बताए ।







