लुम्बिनी। प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्ने उद्देश्यले रुपन्देहीस्थित निर्वाचन आचारसंहिता अनुगमन समितिले चार बुँदे आचरणसहित सार्वजनिक सूचना जारी गरेको छ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्य र प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद खनालले राजनीतिक दल, उम्मेदवार, भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिहरूलाई आचारसंहिता कार्यान्वयन गराउन सूचना जारी गरिएको जानकारी दिएका छन्।
सूचनामा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम जुलुस, आमसभा, कोणसभा, बैठक, भेला तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्दा पालना गर्नुपर्ने २५ बुँदे आचरण उल्लेख गरिएको छ। राजनीतिक दल वा उम्मेदवारले प्रचारप्रसारका क्रममा कार्यक्रम सभ्य र अनुशासित ढङ्गले गर्नुपर्ने, कसैको घर नजिक गई विरोध वा प्रदर्शन गर्न नहुने तथा कार्यक्रम गर्नुअघि कम्तीमा २४ घण्टाअगावै मिति, समय, मार्ग र स्थानबारे स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन प्रचारमा बालबालिकाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिको भावना, इज्जत, चरित्र र प्रतिष्ठामा आँच पुग्ने किसिमको प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ।
घरदैलो कार्यक्रममा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस, बाजागाजा वा झाँकीसहित जान बन्देज गरिएको छ। कुनै पनि धर्मका नाममा प्रचारप्रसार गर्न, साम्प्रदायिक विद्वेष फैलाउने गतिविधि गर्न वा मत माग्न निषेध गरिएको छ। जुलुस वा र्यालीमा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्न पाइने तर अन्य प्रचारप्रसारमा राष्ट्रिय झन्डा प्रयोग गर्न नहुने स्पष्ट पारिएको छ।
सवारीसाधन प्रयोगसम्बन्धी व्यवस्थाअनुसार निर्वाचन अधिकृतको अनुमति लिएर सम्बन्धित निर्वाचन क्षेत्रमा बढीमा दुईवटा विद्युतीय वा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न पाइनेछ। विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोगमा भने रोक लगाइएको छ। हेलिकप्टर सेवा प्रयोग गर्दा आयोगले तोकेको खर्च सीमाभित्र रही प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन खर्च व्यवस्थापनमा राजनीतिक दल वा उम्मेदवारले छुट्टै बैंक खाता खोली तोकिएको जिम्मेवार पदाधिकारीमार्फत मात्र खर्च गर्नुपर्नेछ। रु २५ हजारभन्दा बढी आर्थिक सहयोग बैंक वा वित्तीय संस्थामार्फत मात्र लिनुपर्ने तथा सो रकमको रसिद दिएर सम्बन्धित खातामा जम्मा गर्नुपर्ने अनिवार्य गरिएको छ।
सञ्चारमाध्यम प्रयोगसम्बन्धी व्यवस्थाअनुसार टेलिभिजन, रेडियो, एफएम र अनलाइन माध्यमबाट प्रचारप्रसार गर्दा तोकिएको मापदण्ड पालना गर्नुपर्नेछ। अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएको हुनुपर्ने उल्लेख गरिएको छ।
आचारसंहिता उल्लङ्घन गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रु एक लाखसम्म जरिवाना वा उम्मेदवारी रद्द हुनसक्ने चेतावनी दिइएको छ।
समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, भ्रातृ सङ्गठन, मतदाता, सञ्चारकर्मी र सरोकारवालालाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृतको कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका एकाइ वा निर्वाचन आयोगमा लिखित, मौखिक वा विद्युतीय माध्यमबाट दिन सकिने व्यवस्था गरिएको छ।






