काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्ने विभिन्न दलका नेताहरूले कांग्रेसभित्रको आन्तरिक विवाद र महाधिवेशनमा सबै पक्ष सहभागी नभएको विषय उठाएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगनकुमार थापालाई महाधिवेशनमा सहभागी हुन छुटेका नेता–कार्यकर्तालाई समेत समेटेर अघि बढ्न सुझाव दिएका छन्।
प्रचण्डले कांग्रेस ऐतिहासिक लोकतान्त्रिक पार्टी भएको र मुलुकको वर्तमान परिस्थितिलाई समेत ध्यानमा राख्दै सबै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
‘सबै नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूलाई एकीकृत गरेर, केन्द्रित गरेर एउटा विशाल शक्ति निर्माण होस्,’ प्रचण्डले भने, ‘बाँकी रहेका साथीहरूलाई पनि समेट्ने तपाईंको प्रयास सफल होस्।’
उनले नयाँ पुस्ताका नाममा ज्येष्ठ नेता तथा कार्यकर्तालाई अपमान गर्ने प्रवृत्ति उचित नभएको पनि बताए। समाज वृद्ध, प्रौढ र युवा सबै पुस्ताको सहभागिताबाट अघि बढ्ने भएकाले सबै पुस्तालाई सम्मान र साथ लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने पार्टीभित्र निरन्तर विवाद र असन्तुष्टि सिर्जना गर्नेहरूलाई सधैँ फकाएर राख्न आवश्यक नरहेको सुझाव दिए।
‘कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो पनि हुन्छ,’ लामिछानेले भने।
उनले यस्तो सुझाव दिएर आफूले गगन थापालाई ‘दोस्रो गुण’ लगाएको भन्दै सुझाव स्वीकार गर्ने वा नगर्ने जिम्मेवारी थापाकै भएको बताए।
कांग्रेसको १५औँ महाधिवेशनमा सबै पक्ष सहभागी नभएको विषय उद्घाटन समारोहमा समेत उठेपछि पार्टीभित्रको एकता र आन्तरिक लोकतन्त्र महाधिवेशनको प्रमुख चर्चाको विषय बनेको छ।







