काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं फर्केका छन् । माघ १२ गते आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा पुगेका थापा शुक्रबार काठमाडौं फर्केका हुन् ।
थापा पाँच दिनसम्म सर्लाही ४ का मतदातासँगै रहे । उनले निर्वाचन क्षेत्रको उत्तरदेखि दक्षिणसम्मका सबै स्थानीय तह र वडामा पुगेर मतदातासँग भेटघाट गरे । आफ्ना कुरा राखे । पार्टी सभापति त्यसमा पनि भावी प्रधानमन्त्रीका दाबेदार पनि भएकाले सर्लाहीवासीले थापालाई न्यानो स्वागत गरेका छन् ।
थापा सर्लाहीमा उम्मेदवार बनेर आएपछि कांग्रेसका मात्र होइन, एमाले, माओवादीसहित अन्य दलका नेता कार्यकर्ता पनि खुसी भएका छन् । उनलाई ‘नेसनल फिगर’ को संज्ञा दिँदै यसपटक जिताएर पठाउने आश्वासन दिएका छन् । गगन पुगेका ठाउँमा एकजना पनि बाहिरका मतदाता थिएनन् । सबै सर्लाही ४ का मात्रै थिए । पाँच दिनसम्म सर्लाही ४ मात्रै केन्द्रित भएका सभापति थापा आगामी दिनमा भने मधेशका सबै जिल्लामा चुनावी सभामा सहभागी हुने भएका छन् । पहिलोपटक मधेशका जिल्लामा उम्मेदवार बनेकाले पनि त्यहाँका मतदाताको विचार र धारणा बुझ्ने उनले मौका पाएका छन् ।
गगनले मतदातालाई सर्लाही ४ को विकास र समृद्धिमा आफूले सकेको गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले सर्लाही ४ का जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन र गुनासो तथा माग सम्बोधन गर्न सर्लाही र काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने घोषणा गरेका छन् । यसबाट पनि त्यहाँका नागरिक खुसी देखिएका छन् । अहिलेसम्म जिताएर पठाएका सांसदले केही नगरेको भन्दै मतदाता आक्रोशित भएका छन् ।
काठमाडौं आएलगत्तै सभापति थापाले पार्टीको बैठक राखेर घोषणापत्र लेखन थाल्ने भएका छन् । साथै, पूर्वसभापति शेरबहादुर देउवा, नेता शेखर कोइरालालगायतसँग उनले भेटेर छलफल गर्ने भएका छन् ।






