काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् र संकटका बेला सबै राजनीतिक दल एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन्।

सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकलाई सम्बोधन गर्दै थापाले विपद्को समयमा सरकारलाई सहयोग गर्नु कांग्रेसको परम्परा र स्वभाव रहेको बताए।

उनले राष्ट्रिय राजनीतिको जुनसुकै भूमिकामा भए पनि संकटका बेला सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए। विपद्को सामना गर्न सरकारले अघि बढाउने सबै काममा राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने उनको भनाइ छ।

ADVERTISEMENT

थापाले बाढीपहिरोको घटना भएलगत्तै कांग्रेसले सरकारसँग समन्वय गरेर उद्धार तथा राहतका काममा पार्टीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार दलका नेता भीष्मराज आङ्देम्बे र प्रभावित क्षेत्रका सांसद मोहन आचार्यलगायत कांग्रेस नेताहरूले सरकारले बोलाएको बैठकमा सहभागी भएर सरकारका सबै उद्धार तथा राहतका काममा पार्टीको साथ र सहयोग रहने धारणा राखिसकेका छन्।

ADVERTISEMENT

सभापति थापाले संकटको घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर नागरिकको उद्धार र राहतलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

बाढीपहिरो प्रभावितको उद्धार तथा राहतमा पार्टीको ध्यान केन्द्रित गर्न कांग्रेसले सानेपामा पूर्वनिर्धारित कार्यक्रमहरू समेत स्थगित गरेको छ। आजका लागि तय गरिएको प्रतिष्ठानको कार्यक्रम र भोलि आयोजना हुने महिला उद्यमीहरूको सम्मेलन स्थगित गरिएको थापाले बताए।

उनले आगामी केही दिन कांग्रेस केन्द्रीय कार्यालयमा हुने सबै कार्यक्रम रोक्दै पार्टीको सम्पूर्ण ध्यान राहत तथा उद्धारमा केन्द्रित गरिने जानकारी दिए।