काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग आज बुधबार दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अन्य अवरोध नआएमा दिउँसो १ बजेदेखि राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिनेछ।

ADVERTISEMENT

गत असोज ७ गते रातिदेखि परेको निरन्तर वर्षाले राजमार्गका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएपछि यातायात प्रभावित भएको थियो। अहिले सडकमा थुप्रिएको पहिरो हटाउने तथा अवरोध पन्छाउने काम भइरहेको छ। हाल केही स्थानमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन भइरहेको प्रशासनले जनाएको छ।

ADVERTISEMENT

राजमार्ग सञ्चालनमा आए पनि पहिरोको जोखिम भने पूर्ण रूपमा हटिसकेको छैन। वर्षा रोकिए पनि कमजोर बनेका सडक तथा आसपासका क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले यात्राका क्रममा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

सवारी चालकलाई ट्राफिक नियम र सडक अनुशासनको पालना गर्दै सुरक्षित रूपमा यात्रा गर्नसमेत प्रशासनले अनुरोध गरेको छ।

ADVERTISEMENT