काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २७२ वटा विपद्का घटना हुँदा २१ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म भएका विपद्का घटनामा चार जना बेपत्ता भएका छन् भने २६ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार उक्त अवधिमा सबैभन्दा धेरै पहिरोका ९७ घटना भएका छन् । पहिरोमा परी १९ जनाको मृत्यु, चार जना बेपत्ता र चार जना घाइते भएका छन् ।
त्यस्तै, अविरल वर्षाका ८०, बाढीका ५७, सर्पदंशका १७, आगलागीका आठ, हावाहुरीका आठ, जनावर आक्रमणका चार र हिमपातको एउटा घटना भएको प्राधिकरणले जनाएको छ ।
बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको छ । अविरल वर्षाका घटनामा भने ७०० जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
विपद्का कारण ४८ सडकखण्ड अवरुद्ध भएका छन् भने १२१ चौपायाको क्षति भएको छ । विभिन्न घटनाबाट एक करोड ९१ लाख ६६ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पहिरो, बाढी र अविरल वर्षाका घटना प्रमुख रहेको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट उद्धार र खोजी कार्य जारी रहेको छ ।








