म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी) क्षेत्रमा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दी का प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार अवरुद्ध सडक खुलाउन सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर डोजरसहितका उपकरण परिचालन गरिएको छ ।
सडक अवरुद्ध भएपछि बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । यसबाट मुस्ताङ भ्रमणमा निस्किएका पर्यटक तथा मुक्तिनाथ दर्शनका लागि जाने तीर्थयात्रीसमेत प्रभावित भएका छन् ।
स्थानीयवासीका अनुसार सिरुवारी क्षेत्रमा वर्षा हुनेबित्तिकै पहिरो खस्ने समस्या दोहोरिने गरेको छ । यही कारण उक्त क्षेत्र बेनी–जोमसोम सडकमा नियमित र सहज यातायात सञ्चालनका लागि मुख्य चुनौती बन्दै गएको छ ।





