काठमाडौं । तिब्बतमा पहिरोपछि बनेको ताल फुटेर थप बाढी आउन सक्ने जोखिम बढेपछि चीनले उद्धार अभियान तत्कालका लागि स्थगित गरेको छ। चिनियाँ अधिकारीहरूले उद्धारमा खटिएका टोलीलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार पहिरोबाट थुप्रिएको ठूलो परिमाणको माटो, लेदो र भग्नावशेषका कारण बनेको तालमा पानीको सतह निरन्तर बढिरहेको छ। तालबाट पानी उद्धार टोली परिचालन भइरहेको क्षेत्रतर्फ बग्न थालेपछि जोखिम बढेको हो।

ADVERTISEMENT

चिनियाँ राज्य सञ्चालित प्रसारक सीसीटीभीका अनुसार सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ। घटनास्थलमा रहेका आपत्कालीन टोलीलाई करिब एक किलोमिटर टाढा हट्न निर्देशन दिइएको छ।

ADVERTISEMENT

बुधबार चीन–नेपाल सीमावर्ती तिब्बतको केरुङ क्षेत्रमा ठूलो पहिरो गएपछि माटो र भग्नावशेष थुप्रिएर ताल बनेको थियो। पहिरोमा परी सयौँ मानिस अझै बेपत्ता रहेको बताइएको छ।

निरन्तर वर्षाका कारण आगामी तीन दिनसम्म तालको जलस्तर थप बढ्न सक्ने र सेप्टेम्बर १ आसपास उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

ADVERTISEMENT

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ताल फुटेमा तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने जोखिम छ। यसबाट केरुङ बन्दरगाहसहित आसपासका क्षेत्रमा थप क्षति हुन सक्ने चेतावनी दिइएको छ।

उद्धार अभियान स्थगित भए पनि बेपत्ता नागरिकको खोजी तथा सम्भावित बाढीबाट प्रभावित हुन सक्ने क्षेत्रमा जोखिम न्यूनीकरणका लागि चिनियाँ निकायहरू तयारी अवस्थामा रहेका छन्।