काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलामा आएको बाढीले लेदोसहित ढुङ्गामाटो सडकमा थुप्रिनुका साथै विभिन्न स्थानमा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका सडकखण्ड अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचनाअनुसार तीन जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित भएको छ।
काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
ललितपुर महानगरपालिका–२ सुन्दरीघाटस्थित बागमती खोला करिडोरको सडकमा बागमती नदीको जलसतह बढेपछि आवागमन अवरुद्ध भएको छ। यसैगरी, बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेमा कान्ति लोकपथमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
वर्षाका कारण सडकमा लेदो र पहिरो खस्ने जोखिम रहेकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्ने यात्रुलाई सावधानी अपनाउन तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।









