काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन केही दिन सर्ने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय भएको थियो ।
एक शीर्ष पदाधिकारीका अनुसार देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरो र सडक अवरोधका कारण महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं आउन समस्या भएपछि महाधिवेशनको मिति केही दिन सार्नेबारे छलफल भइरहेको छ ।
ती पदाधिकारीका अनुसार महाधिवेशन ५–६ दिनभन्दा बढी नलम्ब्याउने गरी छलफल भइरहेको छ । अहिले महाधिवेशन असोज १९ गतेदेखि सुरु गर्ने कि २१ गतेदेखि भन्ने विषयमा नेताहरूबीच छलफल भइरहेको छ ।
बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै कतिपय क्षेत्रमा जनधनको क्षति भएकाले यस्तो अवस्थामा महाधिवेशनभन्दा नागरिकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा कांग्रेसभित्र उठेको छ ।
कांग्रेस सभापति गगन थापाले पनि बाढीपहिरो प्रभावित क्षेत्रमा सुरक्षा र सहयोगलाई प्राथमिकता दिन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । महाधिवेशनको नयाँ मिति भने पार्टीको सम्बन्धित बैठकबाट औपचारिक रूपमा तय हुने बताइएको छ ।








