काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर बिदा गरे पार्टी एकताका लागि आफूहरू तयार रहेको बताएका छन्।

सोमबार गृहजिल्ला डोटीमा आयोजित पत्रकार सम्मेलनमा बलायरले १६ असोजदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता देउवालाई गराएर १७ गते बिदा गरे पनि आफूहरू एकताका लागि तयार रहेको बताएका हुन्।

ADVERTISEMENT

उनले भने, ‘अझै पनि गगन थापाले १६ गतेको उद्घाटनको अध्यक्षता शेरबहादुर देउवालाई गराएर १७ गते बिदा गरिदियो भने पनि त्यसका लागि तयार छौँ हामी।’

ADVERTISEMENT

बलायरले तल्लो तहका अधिवेशनहरू भइरहेका र कांग्रेसको महाधिवेशन पनि सुरु हुन लागेकाले दुवै पक्षबाट आएका महाधिवेशन प्रतिनिधिलाई समायोजन गरेर एकता गर्न सकिने बताए।

उनका अनुसार पार्टीलाई एकताबद्ध बनाउने हो भने दुवैतर्फबाट आएका महाधिवेशन प्रतिनिधिलाई एकै ठाउँमा समेटेर महाधिवेशनको तिथिमितिसमेत सार्न सकिने विकल्पमा छलफल गर्न सकिन्छ।

ADVERTISEMENT

पूर्वसभापति देउवाले २१ फागुनमा भएको निर्वाचनमा विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाको हस्ताक्षर भएको टिकट माग्दा पनि नपाएको विषय राजनीतिक रूपमा अर्थपूर्ण रहेको बलायरले बताए।

‘शेरबहादुर देउवाले गगन थापाको दस्तखतको टिकट माग्दा पनि नपाउनु राजनीतिक रूपमा के हो ? यी कुराहरू पत्रकारहरूले पनि बुझ्नुपर्‍यो,’ उनले भने।

विशेष महाधिवेशनबाट स्थापित नेतृत्वले देउवाको इच्छा पूरा गरिदिएको भए उचित हुने बलायरको भनाइ थियो। देउवाले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आए पनि त्यही विशेष महाधिवेशनबाट स्थापित सभापतिको हातबाट टिकट लिएर डडेल्धुरामा चुनाव लड्ने उनको इच्छा रहेको बलायरले बताए।