काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। पार्टीको केन्द्रीय कमिटी बैठक जारी रहेकै बेला एमालेले सचिवालय बैठक बोलाएको हो।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्नेछ।
सचिवालय बैठक सकिएपछि मध्याह्न साढे १२ बजे केन्द्रीय कमिटी बैठक बस्नेछ। ललितपुरस्थित एक पार्टी प्यालेसमा सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने एमालेको तयारी छ।
सचिवालय बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले दिएका सुझाव समेट्ने विषयमा छलफल हुने बताइएको छ। साथै केन्द्रीय कमिटीमा मनोनीत गर्ने व्यक्तिहरूका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन्।
त्यसैगरी स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा पनि सचिवालय बैठकमा छलफल हुने भएको छ। सचिवालयमा छलफल गरेपछि स्थायी कमिटी र पोलिटब्युरो गठनबारे केन्द्रीय कमिटी बैठकबाटै घोषणा गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन्।







