काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी ओलीको निवास गुण्डु भक्तपुरमा बैठक सुरु भएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बस्न लागेको पहिलो सचिवालय बैठकले नेताहरुको जिम्मेवारीबारेमा निर्णय गर्ने बताइएको छ । नेतृत्व परिवर्तन र जिम्मेवारीको बहस पार्टीभित्र चलिरहेका बेला बसेको सचिवालय बैठकले ठोस निर्णय गर्ने बुझाइ एमालेजनको छ ।
निर्वाचन परिणामबारे एमालेको केन्द्रीय स्तरमा अझै समीक्षा सुरु हुन सकेको छैन । एमालेले महाधिवेशनपछि नेताहरुको जिम्मेवारी पनि तोक्न बाँकी छ । सो बारेमा छलफल हुने अध्यक्ष ओलीको सचिवालयका सदस्यहरुको भनाइ छ ।

आजको बैठकमा गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि छलफल हुने जनाएको छ। यससँगै सरकारले जबरजस्ती हटाएका सुकुम्वासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही पनि बैठकका एजेन्डा रहेका छन्।
एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल भने अहिले नेतृत्व परिवतर्नको अभियानमा लागेका छन् । आजको बैठकमा पौडेल र पोखरेलले के कस्ता धारणा राख्छन्, त्यसले एमालेको आगामी भविष्यबारे धेरै कुरा बताउने नेताहरुको भनाइ छ ।








