काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतको कामलाई थप तीव्रता दिन आग्रह गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बाढी प्रभावित परिवारलाई राहतको अनुभूति हुने गरी राज्यका सेवा प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगदीश खरेलले सरकारका मन्त्री तथा पदाधिकारीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतको काम भइरहेको तथा अब पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढ्ने तयारीबारे जानकारी प्राप्त भएको बताए।

ADVERTISEMENT

रास्वपाले अझै बेपत्ता रहेका व्यक्तिको खोजीलाई निरन्तरता दिन तथा पहिचान हुन नसकेका शवको डीएनए परीक्षण प्रक्रिया छिटो गर्न माग गरेको छ।पार्टीले बेपत्ता व्यक्तिको मृत्यु भएको वा नभएको विषय लामो समयसम्म अनिश्चित नराख्नुपर्ने बताएको छ। कानुनी अड्चन देखिए आवश्यक कानुनी व्यवस्था संशोधन गरेर भए पनि परिवारलाई मृत्यु प्रमाणपत्र उपलब्ध गराउनुपर्ने र पीडित परिवारको सहमतिमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सरकारले सहजीकरण गर्नुपर्ने रास्वपाको भनाइ छ।

ADVERTISEMENT

भोटेकोशी बाढीपछि खोजी, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामबारे रास्वपाले यसअघि पनि राजनीतिक तहमा छलफल गर्दै आएको छ। हालै सर्वदलीय छलफलबाट बाढी प्रभावित क्षेत्रको अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्ने विषयमा समेत सहमति जुटेको थियो।

मधेस अधिवेशनबारे पनि छलफल

सचिवालय बैठकमा मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित आन्तरिक समस्याबारे समेत छलफल भएको छ। सहमहामन्त्री हरि ढकाल संयोजक रहेको समितिले यससम्बन्धी अडिट रिपोर्ट पेस गरेको र विस्तृत रिपोर्ट अर्को हप्ता बुझाइने प्रवक्ता खरेलले जानकारी दिए।

ADVERTISEMENT

त्यस्तै, बैठकले अनुशासन आयोग तथा केही विभागमा नयाँ सदस्य मनोनयन गरेको छ। उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा भएका गतिविधि र उपलब्धिबारे पनि बैठकमा समीक्षा गरिएको छ। बाढीको विपद्का कारण स्थगित भएका पार्टीका औपचारिक तथा नियमित गतिविधि पुनः सञ्चालन गर्ने निर्णयसमेत रास्वपाले गरेको छ।