काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि राहत तथा सहयोग जुटाउन २ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ संकलन गरेको छ।

कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले सोमबार १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा बाढीपीडितका लागि उक्त रकम संकलन भएको उल्लेख गरेका छन्।

ADVERTISEMENT

प्रतिवेदनअनुसार क्रियाशील सदस्य, शुभेच्छुक तथा नेपाल र विदेशबाट रकम संकलन गरिएको हो। संकलित रकममध्ये कांग्रेसले १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको छ।

ADVERTISEMENT

बाँकी १ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ नेपाल बैंक तथा ईसेवामा रहेको प्रतिवेदनमा उल्लेख छ। उक्त बाँकी रकम पनि सम्बन्धित निर्णय तथा आवश्यकताअनुसार राहत र पुनःस्थापनाका काममा परिचालन गरिने कांग्रेसले जनाएको छ।

कोषाध्यक्ष श्रेष्ठले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनःस्थापनाका लागि समेत रकम परिचालन गर्ने व्यवस्था गरिएको प्रतिवेदनमार्फत जानकारी दिएका छन्।

ADVERTISEMENT