सोलुखुम्बु । भोटेकोशीमा आएको भीषण बाढीका कारण परिवारका सदस्य सम्पर्कविहीन भएका सोलुखुम्बुका १४ परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले कुल ७ लाख रुपैयाँ सहयोग गरिएको हो।

गत भदौ १० गते आएको बाढीबाट प्रभावित सोलुदुधकुण्ड नगरपालिका–८, ९ र १० अन्तर्गत केरुङ, गोराखानी र टाप्टिङका परिवारलाई उक्त रकम वितरण गरिएको हो।

ADVERTISEMENT

सोलुदुधकुण्ड नगरपालिका–१० का वडाध्यक्ष होमबहादुर मगरको समन्वयमा अमेरिकामा बसोबास गर्दै आएका समाजसेवी मोनी शेर्पा, पेम दोर्जी शेर्पा, ब्रुस वार्ड, याङ्जी शेर्पा र तेन्डी शेर्पालगायतको सहयोगमा राहत रकम प्रदान गरिएको हो।

ADVERTISEMENT

वडाध्यक्ष मगरका अनुसार बाढीका कारण परिवारका सदस्य सम्पर्कविहीन भएपछि समस्यामा परेका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको हो।

विपद्का कारण आफन्त सम्पर्कविहीन हुँदा कठिन परिस्थितिको सामना गरिरहेका परिवारलाई प्राप्त सहयोगले आर्थिक भार कम गर्न केही राहत पुग्ने अपेक्षा गरिएको छ। विपद्का समयमा सहयोगका लागि अघि सरेका दाताहरूको मानवीय पहलले प्रभावित परिवारलाई सहारा पुग्ने विश्वास गरिएको छ।

ADVERTISEMENT