काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १७औँ दिनसम्म १ हजार ३८५ जनाको शव फेला परेको र ५ हजार १३० जना अझै बेपत्ता रहेको सरकारले जनाएको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले रसुवा, नुवाकोट र धादिङलगायत तटीय क्षेत्रमा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको बताए। बेपत्तामध्ये ३५ देशका करिब ६ सय विदेशी नागरिकसमेत रहेको उनले जानकारी दिए।
हालसम्म बाढी प्रभावित क्षेत्रबाट ३२० भन्दा बढी विदेशी नागरिकसहित १३ हजार ६७६ जनाको जीवित उद्धार गरिएको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने मन्त्रालयले जनाएको छ।
शव पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक विज्ञहरू नेपाल प्रहरीसँग मिलेर डीएनए संकलन तथा विश्लेषणमा जुटेका छन्। पहिचानपछि आफन्तलाई बुझाउन सहज होस् भनेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई अस्थायी रूपमा समाधिस्थ गर्ने काम भइरहेको छ।
पुनर्निर्माणका लागि ६ खर्ब ४० अर्ब आवश्यक
सरकारले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनअनुसार बाढीबाट १ अर्ब ८० करोड अमेरिकी डलर अर्थात् करिब २ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको छ। त्यस्तै, ८८ करोड ३० लाख डलर अर्थात् करिब १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रारम्भिक आकलन छ।
समग्र पुनर्निर्माण तथा पुनरुत्थानका लागि ४ अर्ब ७८ करोड अमेरिकी डलर अर्थात् करिब ६ खर्ब ४० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ। आगामी ६ महिनाभित्र गरिने अल्पकालीन पुनर्निर्माणका लागि मात्रै ५ करोड ७६ लाख डलरभन्दा बढी आवश्यक पर्ने जनाइएको छ।
क्षतिको विस्तृत विवरण तयार गर्न सरकारले विपद्पछिको आवश्यकता मूल्यांकन प्रक्रिया अघि बढाइसकेको छ।
विदेशी उद्धार टोली पनि परिचालन
बाढीले पुरिएका जलविद्युत् आयोजनाका सुरुङ तथा जटिल भग्नावशेषमा खोजीका लागि नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोली परिचालित छन्। यूएई, मलेसियाको ‘स्मार्ट’ र अस्ट्रेलियाको ‘डार्ट’ टोलीले पनि स्थलगत खोजीमा सहयोग गरिरहेका छन्।
चिनियाँ अधिकारीहरूको सहजीकरणमा तातोपानी नाका हुँदै ७६८ नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काइएको मन्त्रालयले जनाएको छ।
सरकारले अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन, जमिनमुनि हेर्न सकिने लिडार प्रणाली, पानीमुनि खोजी गर्ने ड्रोन, बेली ब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट तथा उच्च क्षमताका पम्प उपलब्ध गराउन आग्रह गरेको छ।
यसैबीच गल्छी–त्रिशूली सडकखण्डको देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिज जडान गरी यातायात सञ्चालनमा ल्याइएको छ। प्रभावित क्षेत्रमा सञ्चार, विद्युत् र सडक सञ्जाल पूर्ण रूपमा सञ्चालन गर्न काम भइरहेको र परराष्ट्र मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्ष २४ घण्टा सक्रिय रहेको जनाइएको छ।






