काठमाडौं । नेपाल र चीनको सीमावर्ती क्षेत्रमा भोटेकोशी नदीमा हालै गएको विनाशकारी बाढी तथा पहिरोको वैज्ञानिक अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरूको टोली नेपाल आइपुगेको छ। नेपालका वैज्ञानिकसँग सहकार्य गर्दै विपद्को स्रोत, विकासक्रम र त्यसले पारेको प्रभावको स्थलगत अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरू नेपाल आएका हुन्। करिब २० दिन सञ्चालन हुने संयुक्त अभियानमा विपद्को स्रोत क्षेत्रदेखि चीनमा प्रभावित क्षेत्र हुँदै हिमालयबाट बग्ने नदी प्रणालीका तल्लो तटीय क्षेत्रसम्म अध्ययन गरिनेछ।

गत अगस्ट २६ मा नेपालको उत्तरी क्षेत्रमा हिमनदी भत्किएपछि हिमपहिरो तथा माटो–ढुंगाको बहाव सुरु भएको थियो। त्यसको प्रभाव सीमापार चीनसम्म फैलिँदा चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको ग्यिरोङ बन्दरगाहसहित नेपालतर्फ १०० किलोमिटरभन्दा बढी क्षेत्रमा क्षति पुगेको थियो।

ADVERTISEMENT

चीन युनिभर्सिटी अफ जियोसाइन्सेस (बेइजिङ)को नेतृत्व तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सहकार्यमा संयुक्त वैज्ञानिक अभियान सञ्चालन हुन लागेको हो। अभियानमा नेपाल र चीनका १० भन्दा बढी विश्वविद्यालय तथा अनुसन्धान संस्थाका ५० भन्दा बढी वैज्ञानिक सहभागी छन्।चिनियाँ वैज्ञानिक टोली आइतबार सिचुआन प्रान्तको छेन्दुबाट नेपालका लागि प्रस्थान गरी सोही दिन काठमाडौं आइपुगेको हो।

ADVERTISEMENT

ड्रोन र हेलिकोप्टरबाट समेत अध्ययन

वैज्ञानिकहरूले ड्रोन, हेलिकोप्टर तथा स्थलगत भूगर्भीय नक्सांकन र नमुना संकलनमार्फत विपद्को क्रमिक विकासको अध्ययन गर्नेछन्।प्रारम्भिक हिम–चट्टान खस्ने घटनाबाट कसरी मलबे बहाव, मलबे बाढी हुँदै ठूलो बाढीको रूप लियो भन्ने विषयमा वैज्ञानिक पुनर्निर्माण गरिनेछ। साथै, विपद्को मार्गमा भएको भूक्षय, ढुंगा–माटोको बहाव, त्यसको सञ्चय तथा नदी प्रणालीमा परेको प्रभावसमेत अध्ययन गरिनेछ।

वैज्ञानिकहरूका अनुसार विपद् सीमापार फैलिएकाले कुनै एक देशमा मात्रै गरिएको अध्ययनबाट यसको सम्पूर्ण शृंखला पहिचान गर्न कठिन हुन्छ। त्यसैले नेपालको स्रोत क्षेत्रदेखि चीनसम्म संयुक्त रूपमा गरिने स्थलगत अध्ययनले विपद्को सुरुआती घटनादेखि त्यसको सीमापार प्रभावसम्मको समग्र शृंखला पहिचान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

ग्यिरोङ पुनर्निर्माणदेखि जलवायु जोखिमसम्म

अध्ययनबाट प्राप्त निष्कर्षले भोटेकोशी बाढी तथा पहिरोको वैज्ञानिक पुनर्निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।यसबाट चीनको ग्यिरोङ बन्दरगाहको पुनःस्थापना तथा पुनर्निर्माणका लागि समेत वैज्ञानिक आधार उपलब्ध हुने बताइएको छ। त्यस्तै, जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दै गएको हिमनदीजन्य तथा अन्य विपद्को जोखिम पहिचान र व्यवस्थापनका लागि पनि संयुक्त अध्ययन महत्वपूर्ण हुने वैज्ञानिकहरूको अपेक्षा छ।