काठमाडौं । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ।
नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री गुरुङको सम्पत्ति, शेयर लगानी तथा व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नमाथि गरिएको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।
स्वार्थको द्वन्द्व नहोस् र आफूविरुद्ध निष्पक्ष छानबिन होस् भन्दै गृहमन्त्री गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए। त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिले गुरुङको सम्पत्ति, आम्दानीको स्रोत, ऋण, शेयर लगानी र बैंक मौज्दातलगायत विषयमा अध्ययन गरी ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भए पनि हालसम्म सार्वजनिक नभएको सांसद केरुङले बताए।
प्रतिवेदन सार्वजनिक नगरी गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गरिएको भन्दै उनले सरकारको पारदर्शिता र सुशासनमाथि प्रश्न उठाए।
सांसद केरुङले छानबिनबाट गृहमन्त्री गुरुङ निर्दोष ठहर भएको भए त्यसको आधार, प्रमाण र बयानसमेत सार्वजनिक गर्न माग गरेका छन्।






