काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पूर्व गृहमन्त्री सुधन गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउने तयारी गरेका छन्।स्रोतका अनुसार आजै दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम हुने तयारी गरिएको छ। प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई शपथका लागि तयारी अवस्थामा रहन आग्रह गरेको बताइएको छ।
गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि गठन गरिएको छानबिन समितिले उनको सम्पत्तिमा कुनै ठूला कैफियत नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएको हो।
छानबिन प्रतिवेदन अनुसार गुरुङको नाममा धनकुटामा करिब १९ रोपनी १५ आना जग्गा रहेको देखिएको छ भने अन्य उल्लेख गरिएका जग्गाहरू बुवा तथा हजुरबुवाको नाममा रहेको पाइएको छ। समितिका अनुसार सम्पत्ति विवरणमा देखिएको फरकपन मुख्यतः पारिवारिक सम्पत्ति विवरण समावेशका कारण भएको हो।
समितिले चितवन, गोरखा र चुमनुब्री क्षेत्रका जग्गा विवरण पनि अध्ययन गरेको थियो। प्रारम्भिक विवरणमा गुरुङले उल्लेख गरेको भन्दा केही भिन्नता देखिए पनि ठूलो अनियमितता नदेखिएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ।
यता आजको मन्त्रिपरिषद् बैठकले छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय मात्र गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। उनले प्रतिवेदन ग्रहण भए पनि अध्ययनपछि मात्र आवश्यक निर्णय हुने स्पष्ट पारेका छन्।








