ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर पुगेर दर्शन तथा पूजाआजा गरेका छन्।
शुक्रबार अपराह्न मन्दिर पुगेका राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्णको दर्शन गर्नुका साथै पुजारीबाट फूल तथा प्रसाद ग्रहण गरेका हुन्।
राष्ट्रपति पौडेललाई ललितपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले स्वागत गरेका थिए।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष पाटनको कृष्ण मन्दिर पुगेर दर्शन तथा पूजाआजा गर्ने परम्परा रहँदै आएको छ।
जन्माष्टमीका अवसरमा शुक्रबार बिहानैदेखि पाटनको कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड लागेको थियो। भगवान् श्रीकृष्णको दर्शन तथा पूजा गर्न भक्तजनहरू दिनभर लामो लाइनमा बसेका थिए।
भक्तजनहरू भजन–कीर्तन गर्दै तथा भगवान् श्रीकृष्णको नाम स्मरण गर्दै मन्दिर पुगेका थिए। जन्माष्टमीका कारण पाटन क्षेत्र धार्मिक तथा सांस्कृतिक गतिविधिले भरिभराउ बनेको थियो।






