काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७ हजार ९९२ जना प्रहरी परिचालन गरेको छ।
प्रभावित क्षेत्रमा देखिएका विभिन्न समस्या सम्बोधन तथा सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेश तथा प्रहरी युनिटबाट ठूलो संख्यामा टोली खटाइएको हो।
परिचालन भएकामध्ये प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना छन्। त्यस्तै, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राप्रप्रप्र महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ तथा अन्य प्रहरी युनिटबाट समेत जनशक्ति परिचालन गरिएको छ।
२४ घण्टा समन्वय केन्द्र सञ्चालन
विपद् प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न प्रहरी प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ। विपद्सम्बन्धी सम्पूर्ण कार्य तथा तथ्याङ्क व्यवस्थापनका लागि डीआईजीको नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ समेत गठन गरिएको प्रहरीले जनाएको छ।
घाइतेको उपचार तथा मृतकका परिवारसँग समन्वय गर्न अस्पताल र विमानस्थलमा फोकल डेस्क स्थापना गरिएको छ। वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३, काठमाडौं मेडिकल कलेजमा ५ तथा त्रिभुवन शिक्षण अस्पतालमा डीआईजीको नेतृत्वमा ६२ जना प्रहरी परिचालन गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशी तथा विदेशी नागरिकका शव व्यवस्थापन र घाइतेको विवरण संकलनका लागि एसपीको नेतृत्वमा ८ जनाको टोली खटाइएको छ।
ड्रोन, तालिमप्राप्त कुकुर र स्याटेलाइट फोन प्रयोग
खोज तथा उद्धारलाई प्रभावकारी बनाउन रसुवा, नुवाकोट र धादिङमा १२ वटा ड्रोन परिचालन गरिएको छ। पैदल पुग्न कठिन दुर्गम क्षेत्रमा ड्रोनमार्फत निगरानी तथा खोजी भइरहेको छ।
खोजी कार्यका लागि ५ वटा तालिमप्राप्त कुकुर र सञ्चार सम्पर्क कठिन भएका क्षेत्रमा सूचना आदानप्रदानका लागि ७ वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ।
घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन भएका छन्। डीएनएलगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञको टोली तथा घाइतेको उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकसमेत प्रभावित क्षेत्रमा खटिएका छन्।
विपद्को मौका छोपेर अपराध र ठगी गर्ने पक्राउ
बाढीपछि चोरी, लुटपाट तथा ठगी नियन्त्रणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।
नारायणी नदीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरी चितवनका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको छ।
त्यस्तै, धादिङको गल्छी–४ स्थित त्रिशूली नदी किनारमा फेला परेको बैंकको सेफ तोडेर नगद हिनामिना गरेको आरोपमा २९ जना स्थानीयलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको छ।
बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर फेसबुकमार्फत रकम असुल गर्न खोजेको आरोपमा रामेछापका ३२ वर्षीय सृजन कार्की पनि पक्राउ परेका छन्।
बाढीले बगाएर ल्याएका अन्य सेफसमेत विभिन्न स्थानमा फेला परेका छन्। प्रहरीले त्यस्ता सामग्री सुरक्षित राख्दै अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
नारायणी आसपास ७५७ प्रहरी परिचालन
बाढीको बहाव पहाडी क्षेत्रबाट तराईतर्फ आउने क्रममा सम्भावित जोखिम न्यूनीकरणका लागि चितवनको नारायणी नदी आसपास मात्रै ७५७ जना प्रहरी परिचालन गरिएको छ।
प्रहरीले प्रभावित क्षेत्रमा उद्धार, राहत वितरणमा सहजीकरण, भौतिक अवरोध हटाउने तथा फेला परेका सामग्री व्यवस्थापनको कामसमेत गरिरहेको छ।
विपद्को संवेदनशील अवस्थामा नागरिकको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनमा निरन्तर खटिरहेको प्रहरीले प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।







