काठमाडौँ — भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रतिनिधि सभा बैठकले विशेष प्रस्ताव पारित गर्ने भएको छ। विशेष प्रस्ताव पारित गर्न बुधबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

बैठकमा सांसदहरूले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र राहत कार्यबारे धारणा राख्नेछन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा विशेष शोक प्रस्ताव पारित गर्ने सहमति भएको हो।

ADVERTISEMENT

यसअघि २०७२ सालको विनाशकारी भूकम्पपछि पनि प्रतिनिधि सभाले विशेष शोक प्रस्ताव पारित गरेको थियो। वैशाख १२ गते भूकम्प गएपछि वैशाख २४ गते बसेको बैठकले भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष शोक प्रस्ताव पारित गरेको थियो।

ADVERTISEMENT

कार्यव्यवस्था समितिको बैठकमा बाढी प्रभावित क्षेत्रको अनुगमन तथा सरकारको उद्धार र राहत कार्यको मूल्याङ्कन गर्न विशेष संसदीय समिति गठन गर्नुपर्ने प्रस्तावसमेत उठेको थियो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले समिति गठनको माग गरे पनि यस विषयमा निर्णय भने भएको छैन। रास्वपा महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यले सर्वदलीय बैठकपछि समिति गठनबारे थप छलफल गर्न प्रस्ताव गर्नुभएको थियो।

बैठकमा सांसदहरूको तलबबाट प्रधानमन्त्री राहत तथा उद्धार कोषमा सहयोग गर्ने विषयमा पनि छलफल भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो संसदीय दलबाट कम्तीमा १५ दिनको तलब बराबर रकम सहयोग गर्ने निर्णय गरिसकेको जानकारी दिएको छ। एमाले प्रमुख सचेतक ऐन महरले दलगत आधारमा निर्णय गर्नु उपयुक्त हुने धारणा राख्नुभएको थियो।

ADVERTISEMENT

रास्वपा सचेतक प्रकाशचन्द्र परियारका अनुसार प्रतिनिधि सभाको बैठक भदौ १७ र १८ गते बस्नेछ। त्यसपछि भदौ २३ गते बैठक बस्ने सम्भावना छ।

बाढीमा परी हालसम्म ९८७ जनाको मृत्यु भएको र तीन हजार ९१६ जना सम्पर्कविहीन रहेको जनाइएको छ। बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिन पर्ने भदौ २२ गते सरकारले राष्ट्रिय शोक घोषणा गर्ने सम्भावनासमेत रहेको बताइएको छ।