काठमाडौं । रसुवामा गएको विनाशकारी बाढीपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय शोक घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाली कांग्रेसका सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग आग्रह गरे। उनले विपद्पछिको अवस्थामा प्रचारभन्दा परिणाममुखी उद्धार, राहत र सुरक्षित व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए।
नेकपाकी सांसद मदनकुमारी शाह गरिमाले पनि एक दिन राष्ट्रिय झण्डा झुकाएर राष्ट्रिय शोक घोषणा गर्न माग गरिन्। उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको प्राकृतिक विपद्को विषयलाई अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्ने बताइन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न जिल्लामा ९८७ जनाको शव फेला परेको छ। त्यस्तै ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् भने २७९ जना घाइते भएका छन्। हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
उद्धार, राहत तथा पुनःस्थापनाका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना रहेका छन्।
सांसदहरूले विपद्को घटनालाई जलवायु परिवर्तनसँग जोड्दै विकसित तथा धनी मुलुकहरूले सिर्जना गरेको जलवायु संकटको असर नेपालजस्ता गरीब तथा विकासशील मुलुकले भोग्नुपरेको बताएका छन्। यस विषयमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने उनीहरूको जोड छ।






