काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवा र नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री विपद् कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्राधिकरणले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो। बाढी तथा विपदबाट प्रभावित जनताको राहत र पुनर्निर्माणमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको प्राधिकरणले जनाएको छ।
यसैबीच, बीमा क्षेत्रबाट प्रधानमन्त्री विपद् कोषमा सहयोग रकम जम्मा गर्ने क्रम बढेको छ। नेशनल लाइफ, नेपाल लाइफ, एशियन लाइफ, मेटलाइफ, प्रभु महालक्ष्मी लाइफ लगायतका बीमा कम्पनीहरूले समेत कोषमा आर्थिक सहयोग गरिसकेका छन्।






