काठमाडौं । सडक सुरक्षा, सहरी सुरक्षा तथा सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीचको सहकार्य थप सुदृढ गरिने भएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भएको भेटघाटमा वर्तमान अवस्था, चुनौती र आवश्यकताबारे छलफल गर्दै आपसी समन्वयलाई अझ बलियो बनाउने सहमति भएको हो।
भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण, अव्यवस्थित बसोबास व्यवस्थापन र ‘सडक मानवमुक्त काठमाडौँ’ अभियानलगायतका क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य गर्न महानगर इच्छुक रहेको बताइन्।
उनले महानगर प्रहरी बललाई नेपाल प्रहरीको सहयोगबाट अझ सशक्त बनाइने उल्लेख गर्दै यसले नागरिकले प्रत्यक्ष रूपमा परिवर्तन महसुस गर्ने विश्वास व्यक्त गरिन्।
त्यसैगरी प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक सहयोग उपलब्ध गराउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए। उनले उपत्यका प्रहरी कार्यालयमार्फत समन्वय गरिने जानकारी दिँदै यसका लागि फोकल पर्सन समेत तोकिएको बताए।
कार्कीले सचेतनामूलक कार्यक्रम, नागरिक सहभागिता र प्रविधिको प्रयोग बढाएर कम जनशक्तिबाट बढी परिणाम दिने प्रणाली विकास गर्न महानगरको सहयोग आवश्यक रहेको धारणा राखे।
छलफलका क्रममा लागू औषध दुव्र्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान तथा मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, ट्राफिक संकेत सुधार, रात्रि तथा विहानी बस सेवाको सुरक्षा र सडक मानवमुक्त अभियानमा नेपाल प्रहरीको सहभागितालगायत विषयमा विस्तृत छलफल भएको थियो।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, अन्य अधिकारीहरू तथा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहितका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।







