काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न पार्टी विधानको एक प्रावधान निलम्बन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले विशेष परिस्थितिको कारण विधानमा देखिएको प्राविधिक जटिलता हटाउन विधानको धारा ३५(२)(घ) निलम्बन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । तर, विधानमा रहेको केही समयसीमा र सर्तका कारण निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्न प्राविधिक समस्या देखिएपछि केन्द्रीय समितिले उक्त प्रावधान निलम्बन गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

पार्टीको निर्णयमा भनिएको छ, ‘विशेष परिस्थितिमा १५औँ महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक देखिएकाले विधानको धारा ३५(२)(घ) सम्बन्धमा विधानबमोजिम आवश्यक निलम्बन गर्ने निर्णय गरिएको छ।’

ADVERTISEMENT

विधानको उक्त धारामा महाधिवेशनअघि निश्चित समयभित्र सम्पन्न गर्नुपर्ने सांगठनिक प्रक्रियासम्बन्धी व्यवस्था गरिएको छ । कांग्रेसको वैधानिक म्याद मंसिरमा सकिँदैछ भने १५औँ महाधिवेशन असोजमै गर्नुपर्ने अवस्था छ ।

ADVERTISEMENT

छोटो समयावधिका कारण विधानले तोकेका सबै सांगठनिक प्रक्रिया निर्धारित समयमा पूरा गर्न कठिन हुने देखिएपछि कांग्रेसले विधानको प्रावधान निलम्बन गर्दै महाधिवेशनको बाटो सहज बनाएको हो ।