काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तरुण दलका नेता–कार्यकर्ता जम्मा भएका छन्। भृकुटीमण्डपमा पार्टीकै गगन विश्वप्रकाश पक्षले विशेष महाधिवेशन सञ्चालन गरिरहेको बेला उनीहरू पार्टी कार्यालयमा उपस्थित भएका हुन्। उपस्थित नेता–कार्यकर्ताहरूले ‘हामी यहाँ छौं’ भन्ने सन्देश दिन कार्यालय पुगेको जनाएका छन्।

विशेष महाधिवेशन माग गर्दै आइतबारदेखि काठमाडौंमा उद्घाटन सत्रदेखि बन्दसत्रसम्म कार्यक्रम चलिरहेको छ। दुवै पक्षले वार्ता समिति बनाएर निरन्तर छलफल गरिरहे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन।

ADVERTISEMENT

वार्ताका क्रममा नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। सार्वजनिक कार्यतालिकाअनुसार, मतदान आजै साँझ ९ बजे हुने तय गरिएको छ। मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशित गरिने, मतदाता नामावलीको दाबी–विरोध र छलफल साढे १ बजेसम्म सञ्चालन हुने, दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने, र साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक हुने तालिकामा उल्लेख छ।

पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। केन्द्रीय समितिका लागि हुने निर्वाचनको तयारी जारी छ। यसअघि खम्बबहादुर खातीको नेतृत्वमा रहेको निर्वाचन समिति भंग गरेर मंगलबार बिहान वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको थियो।

विशेष महाधिवेशन र निर्वाचनलाई लिएर पार्टीभित्रको माहोल अहिले संवेदनशील रहेको छ भने सबैको ध्यान कांग्रेसको निर्वाचनको परिणाम के आउछ भन्नेमा केन्द्रित छ।