काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाउँदै प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सीमा सुरक्षा, शान्ति–सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रणजस्ता आधारभूत विषयमा सरकार प्रभावकारी हुन नसकेको दाबी गरे।

उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनताका प्रश्नको दफावार जवाफ दिनुपर्ने माग गरे। सरकारका मन्त्रीहरूले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको उनको आरोप थियो।

ADVERTISEMENT

सांसद राईले सुनसरीको रामधुनी–७ स्थित ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय बासिन्दालाई न्याय दिन माग गरे।

ADVERTISEMENT

त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै उनले पीडितको रकम फिर्ताका लागि सरकारले पहल गर्नुपर्ने बताए।

ADVERTISEMENT

उनले सहकारी पीडितले रकम फिर्ता नपाएको, न्यायालयबाट न्याय पाउन कठिन भएको र अस्पतालमा समेत सहज उपचारको अवस्था नरहेको टिप्पणी गरे। सरकार संसद्प्रति र संसद् जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने उनको भनाइ थियो।

विकास निर्माणतर्फ उनले सुनसरी–१ लगायत देशभरका योजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरे।