काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि पूर्वाधारमन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको विषयले प्रतिनिधिसभा बैठकमा चर्चा पाएको छ । उक्त विषयलाई लिएर सांसदहरूबीच पक्ष–विपक्षमा जुहारी चलेको हो ।

नेपाली कांग्रेसकी सचेतक वासना थापाले दूरदराजका नागरिकले सामान्य औषधिसमेत नपाउने र सुत्केरीलाई अस्पताल लैजान सवारी साधन नपाइरहेको अवस्थामा मन्त्रीको उद्धारमा लाखौँ रुपैयाँ खर्च गरिएको भन्दै सरकारको आलोचना गरिन् ।

उनले कर्णाली तथा सुदूरपश्चिमका नागरिकको स्वास्थ्य उपचारमा समस्या भइरहेका बेला मन्त्रीका लागि राज्यले ठूलो रकम खर्च गरेर हेलिकप्टर पठाएको भन्दै प्रश्न उठाइन् ।

ADVERTISEMENT

‘सरकारले मन्त्रीलाई काठमाडौं ल्याउन ३०–३५ लाख खर्च गर्न सक्छ, तर ३ लाख खर्च गरेर जनतालाई राहत दिन सक्दैन ?’ उनले प्रश्न गरिन् ।

ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक थापाले समेत जनताले आधारभूत सेवा पाउन नसकेको विषय उठाउँदै मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि एम्बुलेन्स नपुग्ने अवस्था समानता नभएको बताइन् ।

ADVERTISEMENT

‘मन्त्रीको जीवन जति मूल्यवान छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान छ,’ उनले भनिन्, ‘मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि एम्बुलेन्स नपुग्ने के यही समानता हो ? के यही हो जनताको सरकार ?’

उनले सरकारले एक्सप्रेस वे निर्माणको कुरा गरिरहँदा कर्णालीमा औषधिसमेत नपुग्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

तर, रास्वपाका सांसद भरतप्रसाद पराजुलीले मन्त्री लम्सालको हेलिकप्टरमार्फत उद्धार गरिएको विषयको बचाउ गरे । उनले मन्त्री लम्साल आफैँ गाडी चलाएर देशका दुर्गम क्षेत्रमा पुगेर त्यहाँको पूर्वाधार तथा कनेक्टिभिटीको अवस्था बुझिरहेको दाबी गरे ।

‘एउटा जिम्मेवार सरकारको प्रतिनिधिको हैसियतले माननीय सुनिल लम्साल मन्त्रीज्यू अहोरात्र पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म आफैँ गाडी चलाएर यो वर्षातको समयमा देशको दुरदराज पुगेर त्यहाँको कनेक्टिभिटीका समस्या र जनताको अवस्था बुझ्न जानुभएको छ,’ उनले भने, ‘रिबन काट्न होइन । तैपनि उहाँकै आलोचना हुन्छ।’

पराजुलीले आलोचनाका लागि आलोचना गर्ने प्रवृत्ति अन्त्य गरी राम्रो कामको समर्थन र नकारात्मक कामको आलोचना गर्ने संस्कार विकास गर्न आग्रह गरे ।

केही दिनअघि बैतडी पुगेका मन्त्री लम्साललाई स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो । त्यसपछि उनलाई धनगढीबाट नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको थियो ।

लम्साल शनिबार साँझ आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए । त्यसक्रममा बिरामी भएपछि उनलाई उद्धार गरी काठमाडौं ल्याइएको हो । उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

मन्त्रीको उद्धारमा राज्यले गरेको खर्च र दुर्गम क्षेत्रमा नागरिकले भोगिरहेको स्वास्थ्य तथा यातायात सुविधाको अभावलाई लिएर संसद्‍मा सांसदहरूबीच आरोप–प्रत्यारोप चलेको हो ।