काठमाडौं । सुनसरी र सिरहामा भएका झडप तथा गोलीकाण्डबारे छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
छानबिन समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार प्रतिवेदनको अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।
‘समितिले आज प्रतिवेदन बुझाएको छ । अब अध्ययनपछि कारबाहीमा जान्छ,’ आचार्यले भनिन् ।
गत १० साउनको राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
घटनामा घाइते भएका जयप्रकाश मेहता र रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि सुनसरी घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको थियो ।
कप्तानगञ्जको विवाद सिरहासम्म समेत पुगेको थियो । सिरहामा भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो । यससँगै दुवै घटनामा मृत्यु हुनेको संख्या चार पुगेको थियो ।
घटनाको वास्तविक अवस्था, सुरक्षा व्यवस्थापन तथा घटनामा भएको क्षतिको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरेको थियो ।
कप्तानगञ्ज घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको थियो । त्यस्तै, सिरहा घटनाको छानबिन गर्न गृह मन्त्रालयका अर्का सहसचिव पुष्पराज शाहीको नेतृत्वमा समिति गठन गरिएको थियो ।
दुवै समितिले मंगलबार नै आ–आफ्नो प्रतिवेदन गृहमन्त्रीलाई बुझाएका हुन् । मन्त्रालयले प्रतिवेदन अध्ययन गरेपछि घटनामा संलग्न देखिएका व्यक्ति तथा जिम्मेवार निकायमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।





