काठमाडौैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामस्थित जानकी मन्दिर दर्शन नगरी फर्किएका छन् । मंगलबार बिहान दर्शनका लागि जनकपुरधाम पुगेका हर्कसहितको टोली तनाव भएपछि फर्किएको हो ।
साम्पाङले सोमबार नै आफू पहिलोपटक जानकी मन्दिरको दर्शनका लागि जान लागेको जानकारी गराएका थिए । सोहीअनुसार समर्थकसहित उनी मंगलबार बिहान करिब ११ बजे जानकी मन्दिर दर्शनका लागि पुग्ने कार्यक्रम थियो। तर, उनी मन्दिर पुग्नुअघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच मन्दिर परिसरमा धकेलाधकेलको अवस्था सिर्जना भएपछि हर्क मन्दिर नै नगई फर्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सम्भावित झडपको अवस्था देखिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिर प्रवेशमा रोक लगाएको थियो । हिन्दू सम्राट सेनाले यसअघि नै साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने घोषणा गरेको थियो।
विवाद बढ्न थालेपछि प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको जनाएको छ। घटनाबारे साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ‘जनकपुरमा तनाव, तर गृहमन्त्रीको फोन अफ’ भन्दै टिप्पणी गरेका छन्।
हर्क साम्पाङले जानकी मन्दिर परिसरमा श्रमदाताहरुलाई दुर्व्यवहार भएको भन्दै आज मन्दिर दर्शन गर्न नसक्ने भएकाले अन्य दिन जाने बताएका छन् ।





