काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशप्रतिको गहिरो माया र प्रतिबद्धताकै कारण आफू निरन्तर गाली, अपमान र तिरस्कारको निशानामा परेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै साम्पाङले देशको हितका लागि आवाज उठाउँदा विभिन्न समूहबाट आलोचना र विरोध सामना गर्नुपरेको बताए। उनले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आरोपसमेत लगाए।
साम्पाङले आफूले देशको विकास, स्वाभिमान र सीमा सुरक्षाका विषयमा उठाएका मुद्दाहरूलाई गलत रूपमा व्याख्या गरिएको दाबी गरे। देशलाई माया गर्नेहरूलाई निरुत्साहित गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
उनले आफू धरानको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको स्मरण गर्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको दाबी गरे। तथापि, आलोचना र विरोधका बाबजुद आफूले काम गर्न नछाड्ने र आफ्नो अभियानलाई निरन्तरता दिने बताए।
दार्चुलामा निर्माणाधीन पुलको उदाहरण दिँदै उनले विरोधका बीच पनि विकास निर्माणका काम अघि बढिरहेको उल्लेख गरे। आगामी १०–१५ दिनभित्र उक्त पुल उद्घाटन गरिने जानकारी दिँदै उनले देशभर श्रम संस्कृतिको अभियान विस्तार गर्ने बताए।
साम्पाङले श्रम संस्कृति पार्टीका कुनै पनि सांसद भ्रष्टाचारमा संलग्न नहुने दाबी गर्दै आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई विजयी बनाउन कार्यकर्ताहरूलाई आह्वान गरे। साथै, विदेशी ऋणमा आधारित विकास मोडेलभन्दा स्वदेशी स्रोत, श्रम र उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।








