काठमाडौं । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी त्यागेको घोषणा गरेका छन् । किराँतीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् साधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी गराएका छन् ।
‘यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसात् गरेको छु । संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु,’ उनले भनेका छन् ।
जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आए पनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने उनले बाचा गरेका छन् । उनले केही दिनअघि नै प्रलोपा परिषद् अध्यक्षबाट राजीनामा दिइसकेका थिए । बुधबार राजीनामाको औपचारिक घोषणा गरेका हुन् ।
पाँच महिनाअघि उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी छाडेका थिए । प्रचण्ड भने माधवकुमार नेपालको एकीकृत समाजवादीसँग माओवादी एकता गरेर नेकपाको संयोजक बनेका छन् । तत्कालीन माओवादी नेता किराँतीले जनार्दन शर्मासँग मिलेर प्रलोपा गठन गरेका थिए । प्रलोपामा बाबुराम भट्टराई संरक्षक छन् ।
प्रलोपा छाडेका सुदन किराँती हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी प्रवेश गर्ने अन्तिम तयारीमा छन् । हर्कको श्रम संस्कृतिले ठूला नेता नभए पनि कोशी प्रदेशमा जबर्जस्त पकड कायम गरेको छ । तीनवटा प्रत्यक्ष सांसद जितेको श्रम संस्कृति राष्ट्रिय पार्टी बनेर चार समानुपातिक सांसद पाएको थियो ।
कोशी प्रदेशमा रास्वपापछि बलियो मानिएको श्रम संस्कृतिमा बसेर राजनीति गर्ने चाहना किराँतीले देखाएका छन् । तर किराँतीले अहिलेसम्म औपचारिक धारणा बाहिर ल्याएका छैनन् । हर्क साम्पाङले भने सुदन किराँतीलाई पार्टीमा स्वागत गर्न आफू तयार रहेको पटकपटक भन्दै आएका छन् ।






