एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले होर्मुज जलडमरूमाथि ‘पूर्ण नियन्त्रण’ कायम राखेको दाबी गरेलगत्तै इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीले कडा प्रतिवाद गरेका छन् ।

अराघ्चीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई ‘नक्कली गुप्तचर सूचनाका’ आधारमा होर्मुज जलडमरूमध्यबारे ‘गलत आकलन’ नगर्न चेतावनी दिएका हुन् ।

ADVERTISEMENT

ट्रम्पले सामाजिक सञ्जालमा अमेरिकाले होर्मुज जलडमरूमाथि ‘पूर्ण नियन्त्रण’ कायम राखेको दाबी गरेका थिए ।

ADVERTISEMENT

अराघ्चीले भने, ‘अमेरिकाले लामो समयदेखि गुप्तचर सूचनामा भएको कमजोरीका कारण गलत आकलन गर्दै आएको छ। यसको एउटा उदाहरण इरानमाथिको युद्ध हो। अब होर्मुज जलडमरूमध्यका विषयमा अझ ठूलो गलत आकलन हुन सक्छ ।’

ADVERTISEMENT

यसैबीच, होर्मुज जलडमरूमध्यमा समुद्री यातायात व्यवस्थापन गर्ने निकाय इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले अमेरिकी अधिकारीहरूले होर्मुज जलडमरूमध्य अब अवरुद्ध नरहेको भन्दै बारम्बार गरेका दाबी परिवर्तन नगर्ने बताएको छ ।

उक्त निकायले भन्यो, ‘होर्मुज जलडमरूमध्य अझै पनि अवरुद्ध छ र इरानका सर्तहरू स्वीकार नभएसम्म यसलाई पुनः खोलिने छैन।’

इरानको मुख्य सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले बिहीबार कुनै पनि व्यापारिक जहाज वा तेल ट्याङ्करले इरानी सशस्त्र सेनाको अनुमति र निगरानीबिना होर्मुज जलडमरूमध्य सुरक्षित रूपमा पार गर्न नसकेको र आगामी दिनमा पनि नसक्ने जनाएको छ।

इरानी सञ्चारमाध्यमले प्रसारण गरेको भिडियो सन्देशमा उक्त मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारीले विगतमा जस्तै होर्मुज जलडमरूमध्य इरानको पूर्ण नियन्त्रण र व्यवस्थापनमा रहेको बताए।

उनले होर्मुजबाट जहाजहरू सामान्य रूपमा आवतजावत गरिरहेको भन्ने अमेरिकी दाबीलाई ‘झुटो र सरासर असत्य’ भन्दै अस्वीकार गरे।

उनले अमेरिकी पक्षका ‘झुटा’ दाबीहरू उसको सेना ‘निराश र असहाय’ भएको संकेत भएको बताए। साथै, अमेरिकी नेता र सेनाले इरानी सशस्त्र सेनाको ‘शक्ति र प्रतिरोध’ राम्रोसँग परीक्षण गरिसकेको उनको भनाइ थियो।

जोल्फाघारीले इरानी सशस्त्र सेनाले यस क्षेत्रमा अमेरिका र इजरायलका सबै गतिविधि तथा आवागमन निगरानी गरिरहेको र इरानी जनताको अधिकार, राष्ट्रिय सार्वभौमिकता तथा राष्ट्रिय आकांक्षाको रक्षा गर्न कुनै पनि खतरा आएमा जवाफ दिन पछि नहट्ने बताए।

इरानले फेब्रुअरी २८ देखि होर्मुज जलडमरूमध्यमाथि आफ्नो नियन्त्रण थप कडा बनाएको थियो। त्यस क्रममा इरानी भूमिमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको आक्रमणपछि इजरायल र अमेरिकासँग सम्बन्धित वा उनीहरूसँग आबद्ध जहाजहरूलाई सुरक्षित रूपमा पार गर्न रोक लगाइएको थियो।