काठमाडाैं । अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर न्युयोर्क लगेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा सैनिक आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । उनलाई न्युयोर्कमा लागूऔषध मुद्दा लगाउने तयारी भएको छ ।
राष्ट्रपति मदुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्युयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिइएको छ।
यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति ट्रम्पले घोषणा गरेका छन् ।
मदुरो सरकारविरुद्ध अमेरिकाले आर्थिक नाकाबन्दी,कूटनीतिक बहिष्कार र विपक्षीलाई समर्थनजस्ता उपाय असफल भएपछि प्रत्यक्ष शक्ति प्रयोग गरेको हो । अन्तर्राष्ट्रिय कानुनको नांगो नाचस्वरुप राष्ट्रप्रमुखलाई अपहरण शैलीमा पक्राउ गरिएको भन्दै संसारभरबाट विरोध सुरु भएको छ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार सार्वभौम राष्ट्रका निर्वाचित राष्ट्रप्रमुखलाई जबर्जस्ती पक्राउ गर्नु गम्भीर उल्लंघन हो । मदुरोलाई अपदस्थ गरेर अनधिकृत मुद्दा चलाउने अमेरिकी तयारीपछि यस विषयमा छलफल गर्न संयुक्त राष्ट्रको सुरक्षा परिषद बैठक सोमबार बस्ने भएको छ ।







