काठमाडौँ । अमेरिकाको न्यूयोर्क सहरको म्यानहट्टनस्थित उच्चस्तरीय कार्यालय भवनमा सोमबार साँझ भएको भीषण गोलीकाण्डमा प्रहरीसहित चारजनाको ज्यान गएको छ। घटनामा सम्लग्न हमलाकारीले पछि आफैलाई गोली हानी आत्महत्या गरेका छन्।
म्यानहट्टनको ३४ तले कार्यालय भवन ३४५ पार्क एभेन्यु मा स्थानीय समय अनुसार साँझ ६:३० बजे एक व्यक्तिले बन्दुकसहित प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए। हमलाकारीले सर्वप्रथम न्यूयोर्क प्रहरी विभाग (NYPD) का अधिकारी दिदारुल इस्लाम लाई निशाना बनाएका थिए, जसको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा एक महिला, एक सुरक्षागार्डसहित थप दुई जनाको पनि मृत्यु भएको छ भने एक व्यक्ति गम्भीर घाइते भएका छन्। अधिकारीहरूले घटनास्थलमा AR-15 शैलीको राइफल प्रयोग भएको पुष्टि गरेका छन्।
शंकास्पद हमलाकारीको पहिचान २७ वर्षीय शेन देवोन तमुरा को रूपमा गरिएको छ, जो लस भेगास, नेभाडाका बासिन्दा हुन्। उनले घटना अघि क्रस-कन्ट्री यात्रा गर्दै न्युयोर्क प्रवेश गरेका थिए। अनुसन्धानकर्ताले उनको गाडीबाट विभिन्न हतियार, गोलीहरू, औषधि र मानसिक अवस्थासम्बन्धी कागजात बरामद गरेको बताएका छन्।
निधन भएका प्रहरी अधिकारी दिदारुल इस्लाम बंगलादेशबाट आप्रवासन गरी आएका थिए र उनी दुई सन्तानका बाबु थिए। उनको श्रीमती गर्भवती रहेको बताइएको छ।
न्यूयोर्क सिटीका मेयर एरिक एडम्स ले घटनापछि वक्तव्य जारी गर्दै इस्लामलाई “सच्चा नायक” भनेका छन्। प्रहरीले घटनालाई एकल आक्रमणको संज्ञा दिँदै अब कुनै खतरा नरहेको जनाएको छ।
ब्ल्याक स्टोन, केपीएमजी, र एनएफएल जस्ता कम्पनीहरूको कार्यालय रहेको यो भवनमा कर्मचारीहरूलाई तत्काल माईक्रोसफ्ट टिम्स र ईमेलमार्फत सूचित गरी सुरक्षित स्थानमा जान भनिएको थियो, जसले धेरैको ज्यान जोगिएको बताइएको छ।
अमेरिकामा यो सन् २०२५ को २५४औं सामूहिक गोलीकाण्ड हो, जसले फेरि एकपटक अमेरिकी समाजमा हतियार नियन्त्रणको बहसलाई चर्काएको छ।








