काठमाडौं । अमेरिका र इरानबीच आक्रमण प्रत्याक्रमण जारी रहँदा स्ट्रेट अफ होर्मुज जलमार्गमा पानीजहाजका संख्यामा व्यापक गिरावट आएको छ ।
बिहीवार अमेरिकाले ९० वटा निसानामा प्रहार गरेको बताएको छ, जसमध्ये केही निसाना सो जलमार्ग नजिकै रहेका छन्। इरानले दुई दिनमा भएका आक्रमणमा १४ जनाको ज्यान गएको बताएको छ।
इरानका सरकारी सञ्चारमाध्यमहरूले बुशेहर परमाणु केन्द्र नजिकै आक्रमण भएको जनाएको छ। त्यसबारे अमेरिकाले कुनै टिप्पणी गरेको छैन।
इरानले कुवेत, बाहरेन तथा कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निसाना बनाएको बताएको छ । बहराइनको राजधानी मानामामा विस्फोटनहरू भएका छन् भने कुवेतले क्षेप्यास्त्र र ड्रोनहरूको प्रतिरोध गरेको अनि कतारमा सुरक्षा सावधानी जारी गरिएको विवरण आएका छन्। इरानले बिहीवार कुवेत, जोर्डन तथा इराकमा थप प्रहार गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन्।
इरानी अधिकारीहरूले अमेरिकासँग होर्मुज जलमार्गको नियन्त्रणका निम्ति भएका लडाइँका माझ देशका कैयन् इलाकाहरूमा ताजा हवाई प्रहार भएको बताएका छन्। सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले उक्त महत्त्वपूर्ण जलमार्ग इरानको नियन्त्रणमा नरहेको बताएको छ।
उसका अनुसार अमेरिकी सेनाले आठ सय व्यापारिक पानीजहाज तथा ४० करोड ब्यारल कच्चा तेललाई सो मार्ग हुँदै सफल ढुवानी गराउन सहयोग गरेको छ। अमेरिका र इरानबीच फेरि युद्ध सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्च तेलमा व्यापक बढोत्तरी भएको छ ।











