वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता हुन सक्ने दाबी गर्दै सैन्य आक्रमणको धम्की स्थगित गरिएको बताए पनि तेहरानले भने कुनै अन्तिम निर्णयमा नपुगेको स्पष्ट पारेको छ ।

मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने भनिएको सम्भावित सम्झौताबारे दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भइरहेका छन् ।

ADVERTISEMENT

तेहरानस्थित विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले शुक्रबार वार्ता जारी रहे पनि सम्झौतामा अन्तिम निष्कर्षमा नपुगेको बताए । उनका अनुसार अधिकांश विषयमा सहमति नजिक पुगे पनि अमेरिकी पक्षले नयाँ माग राखेपछि प्रक्रिया अवरुद्ध भएको हो ।

ट्रम्पले भने सम्झौता उच्च राजनीतिक तहमा स्वीकृत भइसकेको दाबी गर्दै इरानमाथि तय गरिएको आक्रमण र बमबारी रोकिएको घोषणा गरेका छन् । उनले हस्ताक्षरको समय र स्थान चाँडै सार्वजनिक गरिने बताउँदै वार्ता सकारात्मक दिशामा अघि बढिरहेको संकेत गरे ।

ADVERTISEMENT

ट्रम्पका अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा तत्काल प्रभाव देखिएको छ, जसअनुसार सेयर बजारमा वृद्धि र तेलको मूल्यमा गिरावट आएको छ ।

सम्भावित सम्झौतामा अमेरिका र क्षेत्रीय सहयोगीहरू, विशेषगरी इजरायल समेत सहभागी रहेको ट्रम्पको दाबी छ । उनका अनुसार वार्ताका मुख्य बुँदा र विस्तृत रूपरेखा सबै पक्षबाट स्वीकृत भइसकेका छन् ।

तर इरानले उक्त दाबी अस्वीकार गर्दै सम्झौता अझै टुङ्गोमा नपुगेको स्पष्ट पारेको छ । तेहरानले अमेरिकी पक्षले बारम्बार अडान परिवर्तन गर्ने गरेको आरोप लगाउँदै वार्ता जटिल बन्दै गएको जनाएको छ । इरानी सञ्चारमाध्यमले ट्रम्पले पछिल्ला महिनामा दर्जनौँ पटक सम्झौता नजिक पुगेको दाबी दोहो¥याएको उल्लेख गर्दै त्यसप्रति शंका व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले इरानी सर्वोच्च नेतृत्वले सम्झौता स्वीकार गरेको जस्तो आफूले बुझ्ने बताएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छलफल भएको उल्लेख गर्दै सम्झौतामा इरानको समृद्ध आणविक सामग्री हटाउने र मिसाइल पूर्वाधार निष्क्रिय गर्ने विषय समावेश हुने बताए ।

क्षेत्रीय कूटनीतिक प्रयास पनि तीव्र बनेको छ । पाकिस्तान र कतारको मध्यस्थतामा ब्याक–च्यानल वार्ता अघि बढिरहेको बताइएको छ भने इजिप्टले पनि दुवै पक्षलाई उपलब्ध अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।