वासिङ्टन । अमेरिकाले चर्चित बन्दरगाह स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी लगाउने भएको छ । अमेरिकी केन्द्रीय कमान्डले अप्रिल १३ बिहान १० बजे बाट इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने र बाहिरिने सबै समुद्री ट्राफिकहरूको नाकाबन्दी लागू गर्ने बताएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुजको जलडमरूममा नाकाबन्दी सुरु गर्ने बताएपछि अमेरिकी केन्द्रीय कमान्डकाे यस्ताे धारणा आएकाे हाे ।

‘अरबी खाडी र ओमानको खाडीमा रहेका सबै इरानी बन्दरगाहहरूसहित इरानी बन्दरगाहहरू र तटीय क्षेत्रहरूमा प्रवेश गर्ने वा प्रस्थान गर्ने सबै राष्ट्रका जहाजहरूविरुद्ध नाकाबन्दी निष्पक्ष रूपमा लागू गरिनेछ। सेनाहरूले गैरइरानी बन्दरगाहहरूमा होर्मुजको जलडमरूमबाट पारवहन गर्ने जहाजहरूको नेभिगेसनको स्वतन्त्रतामा बाधा पुर्‍याउने छैनन्,’ अमेरिकी केन्द्रीय कमान्डले सामाजिक सञ्जालमा लेखेको छ ।

पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको वार्ता असफल भएपछि अमेरिकाले स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी लगाउने र इरानमाथि आक्रमणको तयारी गरेको छ ।