वासिंगटन । अमेरिकी सरकारले सट डाउनको घोषणा गरेको छ । सिनेटमा लगातार भएका दुईवटा मतदानमा डेमोक्रेट र रिपब्लिकन दुवै दलले एक–अर्काको अस्थायी खर्च प्रस्तावलाई खारेज गरिदिएपछि सट डाउन लागू भएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटहरूबीचको खर्चसम्बन्धी तिक्ततापूर्ण अवस्थाका कारण संघीय सरकार शटडाउनको अवस्थामा पुगेको हो ।
मतदानमा डेमोक्र्याटको प्रस्ताव ४७–५३ मत तथा रिपब्लिकनको प्रस्ताव ५५–४५ मतले खारेज भएको छ ।
प्रस्ताव पास गर्न ६० मत आवश्यक पर्छ । दुबै पक्षको प्रस्ताव अस्वीकृत भएपछि सरकारी फन्डिङ रोकिनेछ । यसलाई नै गभर्नमेन्ट सटडाउन भनिन्छ । यसले सरकारी काम–कारबाही ठप्प भएका छन् ।
सटडाउनमा सरकारसँग खर्चका लागि पैसा हुँदैन । यसले गर्दा सरकारी कर्मचारीहरूले पाउने तलबदेखि लिएर अन्य सबै खर्चहरू रोकिनेछन् । तर मेडिकल सेवा, सीमा सुरक्षा र हवाई सेवा लगायतका आपतकालीन सेवाहरू जारी रहन्छन् ।
अमेरिकामा सन् १९८० पछि फन्डिङ बिल अड्किएका कारण १५ पटक सटडाउन भएको छ । ट्रम्पको अघिल्लो कार्यकालमा नै सरकारले ३ पटक शट डाउनको सामना गर्नुपरेको थियो । सन् २०१८ को शट डाउन सबैभन्दा लामो ३५ दिनसम्म चलेको थियो ।






